हेटौँडामा रातारात काठ बोकेका शंकास्पद चारवटा ट्रक कहाँबाट आए ?

हेटौँडा/ हेटौँडामा चिरान काठ बोकेका शकांस्पद चारवटा ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा बिहीबार साँझ चिरान काठ बोकेका चारवटा ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो । थानाभर्‍याङका स्थानीय युवा र जनता समाजवादी पार्टी मकवानपुरका नेता–कार्यकर्ताले काठ बोकेका ट्रक नियन्त्रणमा लिएका हुन् । काठ बोकेका ट्रक बुधबार साँझ पनि हेटौँडाबाटै नियन्त्रणमा लिइएको थियो ।

बुधबार समातेको एउटा ट्रक आवश्यक कारबाहीका लागि भन्दै प्रहरीले जिल्ला वन कार्यालय मकवानपुरलाई जिम्मा लगाए पनि उक्त ट्रक बिहीबार साँझ फेरि समातिएको पाइएको छ ।

बिहीबार भने एउटा मात्र नभई थप ३ वटासहित चारवटा ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको जसपा मकवानपुरका अध्यक्ष सोमबहादुर घलानले  जानकारी दिए । मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीकाअनुसार बुधबार हेटौँडा–१८ ठूलदमारमा स्थानीयले नियन्त्रणमा लिएर एउटा शंकास्पद ट्रक प्रहरीलाई जिम्मा लगाएका थिए । उक्त ट्रकलाई वन कार्यालय पठाइएको र सोही ट्रक फेरि बिहीबार साँझ हेटौँडाबाटै नियन्त्रणमा लिएर प्रहरीको जिम्मामा आएको डीएसपी कार्कीले जानकारी दिए ।

स्थानीयले जिम्मा लगाएपछि काठसहितको ट्रक हाम्रो सुरक्षामा थियो । हामीले बिहीबार बिहान काठ भएकाले आवश्यक कारबाहीका लागि वन कार्यालय पठाएका थियौं । तर, बिहीबार नै किन छोडियो हामीलाई थाहा छैन,’ डीएसपी कार्कीले भने ।

वन कार्यालयले शंकास्पद ट्रकलाई किन छोडेको भन्ने विषय खुल्न सकेन । घटनाबारे जानकारी लिन बिहीबार अबेर सहायक वन अधिकृत बसन्त गौतमलाई सम्पर्क गर्दा उनले जानकारीमा नभएको बताए । गौतमले आफूलाई काठसहित ट्रक समातिएको विषय नै थाहा नभएको बताए । ‘मलाई त यो विषय नै थाहा छैन त । तपाईंले भने पछि मैले भर्खर थाहा पाउँदै छु’, सहायक वन अधिकृत गौतमले भने ।

जिल्ला वन अधिकृत शिव सापकोटा र कार्यालयका सूचना अधिकारी दिपक अधिकारीलाई सम्पर्क गरेको थियो । तर, उनीहरु दुवै जनासँग सम्पर्क हुन सकेन । घटनाबारे प्रहरी पनि बेखबर छ । डीएसपी कार्कीले बकैयाबाट काठमाडौंका लागि हिँडेको काठ बोकेको ट्रक हेटौँडामा स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरी कार्यालय परिसरमा सुरक्षा दिएर राखिएको जानकारी दिए । तर, थप जानकारी वन कार्यालयबाटै लिन आग्रह गरे । जानकारीअनुसार जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–६, (बारा जिल्लाको सीमाना नजिक) वनमा ६ वर्षअघि कटान गरिएको काठ श्रेष्ठ थर गरेका एक जना ठेकेदारले लोड गरेर ल्याएका हुन् ।

तत्कालीन समयमा जिल्ला वनको कटानआदेशबिनै काठ काटिएको हुन सक्ने र अदालतमा मुद्दा परेपछि काम रोकिएको र सोही काठ उठाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ । ‘मुद्दा त्यसै परेन । कि  तोकिएको भन्दा बढी काठ काटिएको हुनुपर्छ कि कटान आदेश नै नभई मिलोमतोमा काटिएको थियो । ६ वर्षअघि काटिएको काठ एक जना ठेकदारले ल्याएको चर्चा सुनिएको छ । वन कार्यालयले पनि स्पष्ट जानकारी दिइसकेको छैन’, स्रोतले भन्यो । स्रोतकाअनुसार अदालतबाट वनसम्बन्धी मुद्दाको अन्तिम फैसला नै नभइसकेको अवस्थामा काठ उठाइएको विषय कानुनसम्मत देखिँदैन ।

‘जिल्ला वनका अनुसार मुद्दा टुंगिएको छैन भन्ने सुनेका छौँ । तर, मुद्दा किनारा नलाग्दै काठ पहिल्यै उठेको छ । घटना क्रम हेर्दा ठूलै सेटिङमा काठ आएको देखिन्छ । अझै थुप्रै ट्रक काठ लोड हुँदै गरेको थाहा पाएका छौँ,’ प्रहरी स्रोतले भनेको छ । बुधबार समातिएको काठसहितको ट्रक जिल्ला वनले विस्तृत अनुसन्धान नै नगरी छोडेको छ । बिहीबार साँझ ट्रक नियन्त्रणमा लिइएको थानाभर्‍याङमा वन कार्यालयबाट आएका प्रतिनिधिले अदालतबाट आदेश आएपछि काठ उठाइएको प्रतिक्रिया दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

वनका कर्मचारी र प्रहरीले काठ बोकेको ट्रक छोड्न स्थानीयलाई दबाब दिएको खुलेको छ । तर, घटना संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोसम्म पुगेपछि वनका कर्मचारी र प्रहरी हच्किएका थिए । ‘वनका कर्मचारी र प्रहरीले हामीलाई ट्रक छोड्न दबाब दिनु भएको थियो । झडपकै स्थिति बनेको थियो । घटनास्थलबाटै वनमन्त्रीलाई जानकारी गराएपछि वन र प्रहरीले ट्रक राख्ने भएका थिए । जसकारण प्रहरीले सुरक्षा दिएको छ’, एक प्रत्यक्षदर्शीले  भने ।

शिलापत्रबाट साभार ।

समाचार