उच्च अदालत हेटौँडाको आदेशमा ७१ दिनपछि धरौटीमा छुटे जीवन रावल

हेटौँडा/ आत्महत्या दुरुत्साहनको आरोपमा थुनिएको ७१ दिनपछि चितवनका जीवनबहादुर रावल धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनको हैटाैँडा इजलासले उनलाई साढे ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको उच्च अदालत हैटाैँडाका सूचना अधिकारी केशवराज कौशिकले शिलापत्रलाई जानकारी दिए ।

आफूलाई सहयोग नगरेको कँडेलको आरोपकै आधारमा समातिएका थुनामा रहेका रावललाई छोड्ने आदेश न्यायाधीशद्वय राजेश्वर तिवारी र मेरिना श्रेष्ठको संयुक्त इजलासले गरेको हो ।

अनमोल फिड्स प्रालिका पूर्व प्रबन्ध निर्देशक शंकर कँडेलले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटका आधारमा रावल २१ वैशाखमा पक्राउ परेका थिए । उनी अनमोल फिड्समा लेखापालका रूपमा काम गर्थे ।

२० वैशाखमा आत्महत्या गरेका कँडेलले सुसाइड नोटमा आफूले भनेअनुसार रावलले नसघाएको लेखेका थिए । सोही आधारमा चितवन जिल्ला अदालतको आदेशमा रावल पुर्पक्षका लागि थुनामा थिए ।

सरकारलाई प्रतिवादी बनाई २५ जेठमा उनका तर्फबाट उच्च अदालत हेटौँडामा पुनरावेदन परेकाे थियाे । बारम्बार पेसी सर्दासर्दा हिजो (बिहीबार) अदालतले रावललाई धरौटीमा छाेड्न आदेश दिएको हाे ।

२०७६ सालमा चितवनमै तत्कालीन पत्रकार रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा १२ दिनमै धरौटीमा रिहा गरेको थियो । त्यसको एक वर्षपछि तीनै जनाले सफाइ पाए । आत्महत्या गर्नुअघि पुडासैनीले तीन जनाकाे नामै किटेर आफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

तर, शंकर कँडेलले सुसाइड नोटमा नाम उल्लेख गरेकै आधारमा जिल्ला अदालत चितवनले रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । उनी ७१ दिनदेखि भरतपुरस्थित कारागारमा थिए । एकै प्रकृतिका मुद्दामा अदालतबाट भएको पक्षपातको धेरैले विरोध गर्दै आएका थिए ।

समाचार