यसवर्षको महालक्ष्मी साहित्य पुरस्कार प्रा.डा. भट्टराईलाई प्रदान गरिने

हेटौंडा । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरि जनाकारी गराइएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको यो २१ औं पुरस्कार हो । अघिल्लो वर्ष यो पुरस्कार साहित्यकार श्रवण मुकारुङले प्राप्त गरेका थिए ।
यस्तै समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । उक्त पुरस्कार ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।
यसैबीच मातृभूमि साहित्य समाजले मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार प्रदान गर्ने भएको छ भने ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाललाई पुरस्कृत गरिँदैछ । सो पुरस्कारको राशी पनि १५ हजार रुपैयाँ नै रहेको छ ।
यस्तै १५ हजार राशीकै होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिँदैछ । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गर्न लागिएको समाजका अध्यक्ष पोख्रेलले बताए ।
यस्तै, झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको छ । पुरस्कारको राशी सात हजार पाँच सय रहेको छ । समाजले यी पुरस्कारहरु आगामी श्रावण ५ गते विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरिने समाजका अध्यक्ष पोख्रेलले बताए ।
पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।-prastakhabar

समाचार