मकवानपुरका भोलोनसहित दुई जना पक्राउ

विश्व खाद्य कार्यक्रम (डब्लू.एफ.पी) को नाममा कार्यालय खोली ठगी गर्ने दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय संचालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेष्ठ २९ गते प्राप्त भएपछि अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजरी रजिष्टर १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत बरामद गरेको छ ।

उनीहरु उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने घटनामा संलग्न फरार अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

समाज