बागमती प्रदेशः स्वास्थ्य सेवाको एघारौँ तह बढुवामा गम्भीर त्रुटि

हेटौंडा । बागमती प्रदेशमा स्वास्थ्य सेवातर्फ एघारौँ तहको पदमा बढुवा गर्दा गम्भीर त्रुटि भएको रहस्य फेला परेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको बढुवा समितिको सचिवालयले प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहको पदमा समूह नमिल्ने व्यक्तिलाई गलत पदमा बढुवा गरेको हो ।

बढुवाका क्रममा आयुर्वेद सेवा र जनस्वास्थ्य विषयमा स्नातकोत्तर कर्मचारी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (अस्पताल प्रमुख) पदमा बढुवा गरिएको छ । सो बढुवा जनरल हेल्थ सर्भिस समूहबाट हुनुपर्ने भएतापनि फरक समूहबाट सिफारिस गरिएको पाइएको हो ।

बागमती प्रदेश मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकले प्रदेश निजामती ऐन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सो ऐन कार्यान्वयनको प्रारम्भमा नै त्रुटि भेटिएको हो । असार २२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बढुवा समितिको सचिवालयले कर्मचारीलाई फरक समूहबाट बढुवा गरेपछि अहिले चिकित्सकहरुले नै सो बढुवाको सन्दर्भलाई लिएर विरोध गरिरहेका छन् ।

एघारौँ तहको निर्देशक/प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा दिपक प्रसाद तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झा बढुवा भएका छन् । तिवारी र अधिकारी हेल्थ इन्सपेक्सन समूहका हुन् भने सापकोटा र झा एकीकृत चिकित्सा समूहका हुन् । जुन नमिल्दो समूह भएको चिकित्सकहरु बताउँछन् ।

प्रदेश निजामती सेवा ऐन, २०७९ जारी हुँदा नै बढुवा हुने सम्भावित व्यक्तिलाई हेरेर बनाइएको भन्दै अहिले टिकाटिप्पणी भइरहेको छ ।
‘विज्ञापनमा समूहकृत भनिएको थियो । तर, समूह नमिल्ने व्यक्तिलाई गलत पदमा बढुवा गरेर स्वास्थ्य सेवा जस्तो विशिष्टीकृत जनशक्ति आवश्यक पर्ने सेवाका हकमा समेत धज्जी उडाइयो ।’ एक चिकित्सकले भने ।

समूह नमिल्ने व्यक्तिलाई गलत पदमा बढुवा गर्दा स्वास्थ्य संस्थाको कार्यसम्पादन र स्वास्थ्य सेवा नै प्रवाहित हुनुको साथै यसले दीर्घकालसम्मै विकराल समस्या निम्त्याउने उनले बताए ।

विशुद्ध प्राविधिक ज्ञान र योग्यता आवश्यक पर्ने यी पदहरुमा प्रदेश निजामती सेवा ऐन, २०७९ का आधारमा मूल्याङ्कन गरी प्रकाशित गरिएको उक्त सूचीमा बढुवा भएका उम्मेद्वारहरुको हाल दसौँ तहमा कार्यरत रहँदाको सेवा, समूह, योग्यता र बढुवा गरिएको एघारौँ तहको समूह एवं त्यसका लागि आवश्यक पर्ने योग्यताको सन्दर्भमा अमिल्दो प्रकृतिको गम्भीर समस्या देखिएको छ ।

के छ कानूनी व्यवस्था ?

संघीय स्वास्थ्य सेवा नियमावली, २०५५ ले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न २८ वटा समूह र ५७ उपसमूह रहने व्यवस्था गरेको छ । यी सेवा समूह अन्तर्गत बढुवा हुनका लागि अन्य आधारहरू सँगै हरेक समूह, उपसमूहका लागि विषयगत रुपमा फरक फरक शैक्षिक योग्यता हुनुपर्ने समेत स्वास्थ्य नियमावलीमा उल्लेख छ ।

सो व्यवस्था अनुसार संघीय स्वास्थ्य सेवामा हाल बागमती प्रदेशले गरे जस्तै एघारौँ तह समेतमा बढुवा हुँदा सम्बन्धित समूह, उप समूह भित्र कार्यरत, बढुवा हुन आवश्यक पर्ने विशिष्टीकृत शैक्षिक योग्यता हासिल गरेको कर्मचारी मात्रै बढुवा हुन सक्छ ।

तर, बागमती प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७९ ले भने प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवा हुन अधिकृत दसौँ तहमा कम्तीमा ५ वर्ष सेवाअवधी पुरा गरी सेवा, समूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको कर्मचारी बढुवाका लागिउम्मेद्वार हुनसक्ने व्यवस्था गरेको छ । यसबाट प्रदेश स्वास्थ्य सेवामा कार्यरत रही स्वास्थ्य विषयका जुनसुकै विधामा स्नातकोत्तर उत्तीर्ण कर्मचारी एघारौँ तहमा बढुवा हुने अवस्था सिर्जना भएको छ ।

यसरी विज्ञता र सो विषयमा आवश्यक योग्यता हासिल नै नगरेको जनशक्ति कानूनी छिद्रका आधारमा विशिष्टीकृत सेवाको पदमा बढुवा हुँदा स्वास्थ्य संस्थाको कार्य सम्पादन तथा स्वास्थ्य सेवा प्रवाहमा नै जटिलता उत्पन्न हुने भन्दै विभिन्न चिकित्सक संघहरुले आपत्ती जनाएका छन्

प्रदेश समाचार बागमती प्रदेश