मकवानपुरमा सवारी दुर्घटना, हेटौंडाका युवक घाइते

कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धरमपानीमा आज अपराह्न सवारी दुर्घटना हुँदा एक जना युवक घाइते भएका छन् ।

दुर्घटनामा परेर हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने अन्दाजी २० वर्षीय प्रयास सिमखडा घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार अपराह्न ४ बजेको समयमा जितपुर भञ्ज्याङबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ क ०८०९ न.को सिमेन्टको धुलो लोड रहेको भ्याकुम ट्रक (सिमेन्टको धुलो बोक्ने ट्रक) मा विपरित दिशाबाट जाँदै गरेको बा.प्र.०३–००३ प ५५३५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई ठोकिन जाँदा सिमखडा घाइते भएका हुन् ।

घाइते सिमखडा मोटरसाइकल चालक हुन् । उनको बाँया खुट्टामा चोट लागेको छ । घाइते उनलाई उपचारको लागि हेटांैडा अस्पताल पठाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

समाचार