कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत

, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ ।
गाउँपालिकाले शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र पूँजिगत खर्च ७१.६१ प्रतिशत गरी ७८.६६ प्रतिशत रहेको छ ।
कार्यक्रममा योजना तथा प्राविधिक शाखाका अधिकृत सुरेश न्यौपाने र सहायक पुष्पराज नेगीले गाउँपालिकामा १८५ योजनामध्ये ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । राजस्व शाखाका विक्रमबहादुर थिङले प्रस्तुति गर्दै १ करोड १४ लाख ८२ हजार ८ सय १५ रूपैया आन्तरिक आम्दानी भएको जानकारी दिए । यो गत आव भन्दा २०.७९ प्रतिशत कम हो । आव २०७८/७९ मा १ करोड ४४ लाख ९६ हजार ३ सय ३५ रूपैयाँ आन्तरिक आम्दानी भएको थियो ।
कार्यक्रममा न्यायिक सहजकर्ता अस्मिता थापाले प्रस्तुति दिंदै आव २०७९/०८० मा ५ वटा मुद्धा निरूपण गरेको जानकारी दिइन् । महिला बालबालिका शाखाका हस्तराम नेगीले प्रस्तुति गर्दै ७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनले शाखाले वडागत रूपमा शिविर गरेको र १५२ जनाले शिविरबाट अपांगता परिचय पत्र वितरण गरिएको बताए ।
कृषि तथा पशु विकास शाखा राहुल सेन्चुरीले १४० जनालाई अनुदानमा स्प्रे पम्प वितरण, ५ वटा कृषि समूहलाई टनेल वितरण, माटो परिक्षण, धानको बीउ वितर, बाख्रा पालन, आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम, औषधी खरिद लगायतका काम गरेको जानकारी दिए । उद्यम विकास शाखाकी प्रमिला अर्याल सुशासनको अभ्यास, नयाँ उद्यमी सिर्जना, समूहमा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम भएको जानकारी दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अर्पण लामा घिसिङ, जिन्सी तथा सूचना प्रविधि शाखाका प्रकाश राई, शिक्षा, युवा तथा खेलकुद शाखाबाट सूर्यबहादुर थिङ, बहुक्षेत्रीय पोषण कार्यक्रमकी सरूना प्रजा, स्वास्थ्य शाखाका जगन्नाथप्रसाद साह, पञ्जिकरण शाखाका राजकुमार चेपाङ, प्रशासन शाखाकी ज्वाला स्याङ्तानले आफ्नो शाखाको प्रगति प्रस्तुत गरेका थिए ।

समाचार