बागमतीमा महामारीको रुप लिँदै डेंगू

बागमती प्रदेशमा गएको पुस १७ गतेदेखि साउन १५ गतेसम्ममा ९८० जनामा डेंगू रोगको संक्रमण पुष्टि भएको छ । यो अवधिमा धादिङमा सबैभन्दा धेरै डेंगूका संक्रमित भेटिएका छन् । प्रदेशका अन्य १२ जिल्लामा पनि संक्रमित भेटिएका छन् ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिएको जानकारी अनुसार धादिङमा मात्रै ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गु पुष्टि भएको उनले बताए । त्यस्तै रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा ३/३ जनामा डेंगू पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगूको सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो ।

यस वर्ष डेंगूलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी भुसालले बताए ।

प्रदेश समाचार बागमती प्रदेश स्वास्थ्य