एमालेलाई माओवादीको जवाफ : तपाईंहरूले संसद रोकेकै हो

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदन प्रतिपक्षको मात्रै नहुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले नेकपा एमालेतर्फ इङ्गित गर्दै कुने पनि नियमावलीमा सदन प्रतिपक्षको भनेर नलेखिएको बताएका हुन्।

‘यो सदन हामी सबैको हो। कुनै पनि नियमावलीमा यो सदन प्रतिपक्षमा लेखिएको छैन। निर्वाचित जनप्रतिधिहरूको साझा थलोको रूपमा बुझेका छौं। त्यही अनुरूप अगाडि बढाउन आग्रह गर्दछु,’ उनले भने, ‘डाक्टरले उपचार गरेन भने विरामीको अवस्था के होला? शिक्षक प्राध्यापकले अध्यापन नगराए विद्यार्थीको हालत के होला? कर्मचारीको काम गर्न छोडे राज्यको हालत के होला? अनि संसद रोकिए जनताका समस्या कहाँ गएर प्रकट गर्ने?’

एमालेले आफूहरूले सदन नरोकेको दाबी गरेपछि सांसद पौडेलले प्रतिपक्षी दल एमालेले सदन रोकेको बताए।

‘प्रतिपक्षका साथीहरूलाई अनुरोध गर्न चाहान्छौं– तपाईंहरूले सदन रोकेकै हो। कृपया सदन नरोकेर आफ्ना भनाइहरू सदनमा राख्न आग्रह गर्न चाहन्छु। कहिले सुडान घोटाला, वाइडबडी, एनसेल, सेक्युरिटी प्रेस र ओम्नीका विषय पहिला पनि उठेको हो। ललिता निवासको १२२ रोपनी ४ आना जग्गा किर्ते गरेर हराएको कुरा सबैलाई जानकारी छ। अहिलेको सरकारले खोजी नीति गरेर राज्य मातहत ल्याउन गरेको प्रक्रियालाई हामीले सम्मान र धन्यवाद दिन नसक्ने?,’ उनले भने।

सांसद पौडेलले नक्कली शरणार्थी प्रकरणमा राज्यले छानबिनका प्रक्रिया निष्कर्षमा पुर्याउने कुरामा गृह प्रशासनलाई सम्मान गर्न नसकेको भन्दै एमालेको आलोचना गरे।

‘३३ किलो सुनको प्रसंग, यो भन्दा पहिला पनि सरकार र गृहमन्त्री हुनुहुन्थ्यो। यो भन्दा अगाडि पनि सुन आउने रहेछ। सुनको व्यापार पनि भएको रहेछ। तर, यही सरकारले यो प्रकरणलाई रोक्नुपर्छ भनेको कुरालाई समर्थन गर्न तपाईँहरूलाई केले रोक्यो?,’ उनले भने।

राजनीति