लम्पी स्किन नियन्त्रणका लागी आजबाट प्रदेशभर खोप अभियान

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गाई तथा भैंसीमा देखिएको लम्पीस्किन रोगको महामारीलाई नियन्त्रण गर्न आज बिहीबारबाट सप्ताहाव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेशभर आज विहीबारदेखि ३१ गते बुधबारसम्म पछिल्लो समय गाई तथा भैंसीमा देखिएको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर खोप अभियान सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी मन्त्रालयले जानकारी दिएको हो ।
एकहप्तामा प्रदेशका १३ जिल्लाको विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्रमार्फत् खोप लगाइने मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार यस अभियानअन्तर्गत् ५० हजार खोप लगाइनेछ ।
यस अभियान प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ९१ वटामा सञ्चालन गरिनेछ । वाग्मती प्रदेशभर करिब २ लाख ५ हजार पशु यस रोगबाट प्रभावित भएका छन् । हालसम्म करिब ६२ सय पशुको यस रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले लम्पीस्किनले महामारीको रुप लिइरहेको अवस्थामा अझै धेरै पशुमा संक्रमण हुने सम्भावना बढेको कारण सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
उनले यस क्रममा रोगबाट प्रभावित गाई तथा भैंसीलाई खोप नदिइने बताए । ‘यस रोगको संक्रमण फैलिएको स्थानमा खोप अभियान सञ्चालन गर्दा धेरै पशुको मृत्यु हुनसक्छ । त्यसकारण नफैलिएको स्थानमा अभियान गर्न लागिएको हो ।’, उनले भने ।

समाज