पत्रकार सम्मेलनमा पत्रकारलाई नै बन्धक बनाउने प्रयास,महासंघले जनायो आपत्ति

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई बन्धक बनाउने र नियन्त्रणमा लिने जस्ता गतिबिधि गरेको पाइएको छ । आज पत्रकार सम्मेलन भनेर बोलाएर गाउँपालिकाका पदाधिकारी र कर्मचारी मात्र बस्नुपर्नेमा दर्जनौ युवाहरु बोलाएर पत्रकारलाई तर्साउने काम भएको कार्यक्रममा सहभागी पत्रकारले बताएका छन् ।
आफ्नो असुरक्षा हुने परिस्थिति देखेपछि पत्रकार आफैले प्रहरीलाई बोलाएर जोगिनुपरेको छ ।
यो घटनाको नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले विज्ञप्ती जारी गर्दै घोर निन्दा र भर्तसना गरेको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ती जारी गर्दै मनहरी गाउँपालिकाले बोलाएको पत्रकार सम्मेलनमा पत्रकारलाई बन्धक बनाउने र नियन्त्रणमा लिने काम भएकोमा बिरोध गर्नु भएको छ ।
मनहरी गाउँपालिकाको कार्यालयले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धन बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेस माथि धावा बोल्ने लगायतका दुव्र्यवहार गर्नाले मकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको महासंघ मकवानपुरले विज्ञप्ती मार्फत जनाएको छ । पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै असुरक्षित हुँदा समेत जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको महासंघले दाबी गरेको छ ।


पत्रकारले प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनुभन्दा विडम्बना अरु नहुने विज्ञप्तीमा उल्लेख छ । स्थानीय सञ्चारमाध्यममा ‘राजश्व हिनामिना’को विषयमा समाचार सम्प्रेषण भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

यसै बिषयलाई लिएर प्रेस चौतारी नेपाल र प्रेस सेन्टर मकवानपुरले पनि विज्ञप्ती मार्फत घटनाको विरोध गर्दै आपत्ति जनाएका छन् ।
पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गाउँपालिका अध्यक्ष कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सी शाखा प्रमुख डिल्लीराम रेग्मी लगायतले सवाल जवाफ गरेका थिए ।

मुख्य समाचार राजनीति समाज