दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

१४ असोज- सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिवार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिवार राति १२ः०० बजेपछि लागू हुनेछ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर एक सय ८२ दशमलव पाँच रुपैयाँ , दोस्रो वर्ग (सुर्खेत र दाङ) मा एक सय ८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा एक सय ८५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा एक सय ७८ र तेस्रो वर्गमा एक ७९ रुपैयाँँ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।

अर्थ मुख्य समाचार