बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

हेटौंडा । बागमती प्रदेशसभाका लागि दरबन्दी नै स्वीकृत भएको छैन । त्यही पदामा फेरी बढुवा गरेर प्रदेश सरकारले कर्मचारी पठाउन लागेको छ । पहिले प्रदेशसभाका लागि दरवन्दी स्वीकृत गरेपछी मात्र आन्तरिक बढुवाबाट प्रदेशसभामा सचिब पठाउन सकिने व्यवस्था छ ।

बागमती प्रदेश सरकारको माग अनुसार प्रदेश सभा सचिवालयमा रिक्त रहेको सचिवालय सचिव एक बढुवाद्वारा पदपुर्ति गर्न मिति २०८० असोज ११ गोरखापत्रमा विज्ञापन गरेको छ।

विगतमा सो पदमा डाक्टर चन्द्र प्रसाद लुइटेललाई बढुवा गरी पदस्थापन गरिएकोमा उहाँको यही भाद्र १९ गतेबाट अनिवार्य अवकाश भएको थियो र सो पदमा शिक्षा विकास निर्देशनालयमा कार्यरत एघारौ तहका निर्देशक पूर्ण बहादुर दर्जीलाई सरुवा गरी पठाइएको छ। उहाँ यही असोज ४ गतेदेखि हाजिर भई कार्यरत रहनु भएको छ।

हाल प्रचलनमा रहेको स्वीकृत संगठन संरचनामा सहसचिव (प्रशासन) प्रदेश सभा सचिव रहने व्यवस्था छ भने नेपालको संविधान बमोजिम प्रदेश सभा सचिव नियुक्त भएपछी सोत सो पद खारेज हुने स्वीकृत दरवन्दी तेरिजमा उल्लेख छ। तर प्रदेश सभा सचिवालयले प्रदेश कितावखानामा पद दर्ता समेत नगरेको पद तथा रिक्त पद नै नभएको स्थानमा बढुवा गरी प्रदेश सभामा प्रदेश सरकारले कर्मचारी खटाउन थालेको छ।

यसरी प्रदेश निजामती सेवा ऐनको व्यवस्था विपरित कर्मचारी खटाउने र बढुवा गरी कर्मचारी पठाउने गरेकोले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बागमती प्रदेश सभालाई नियन्त्रण गर्ने खोजेको आभास जनतामा पर्ने थालेको छ। यस बारेमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भने दर्जीलाई केही समयका लागि कामकाजमा खटाइएको र त्यस स्थानमा सचिब बढुवा गरेर पठाउन लागिएको जनपत्रलाई बताउनुभयो ।

पहिलेका सचिब लुइटेलको स्थानमा अहिले भइरहेका कर्मचारीलाई आन्तरिक बढुवा गरेर पठाउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । प्रदेशसभामा सचिबलाई संघीय सरकारले कर्मचारी पनि नपठाउने र सभामुखले नियुक्त गरेर सचिबले प्रदेश सभा बैठक सञ्चालन गर्दा अरु काम गर्न नभ्याउने भएकाले प्रदेश लोकसेवा मार्फत बढुवा गरेर पठाउन लागिएको मुख्यमन्त्री जम्मकट्टेलले जनपत्रलाई बताउनुभयो ।

प्रदेश समाचार बागमती प्रदेश