सुन तस्करी छानविनका लागि आयोग बनाउने सहमति

सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन्।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारीनिवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सो सहमति भएको हो। उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वको सो सुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति गरिएको प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उनले बताए।

सचेतक बर्तौलाले भने, ‘सुन तस्करीबारे एमालेसहितका विपक्ष दलहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने मा गरेको थियो। त्यो मागमा सरकार र दलहरुबीच एउटा सहमति भएको थियो। असोज ५ गते बनाउने र त्यसै दिनबाट सो छानबिन शुरु गर्ने सहमति भएको थियो। असोजको छ गते टर्‍यो। आयोग बनेन। त्यसयता छलफलका प्रक्रियाहरु आरम्भ भए। आज सरकारले हामीलाई छलफलका लागि बोलायो। हामी प्रधानमन्त्रीज्युको निवासमा छलफलमा जुट्यौं। राष्ट्रिय मान्यताप्राप्त दलहरुसहितको उपस्थितिमा एउटा सहमति गरियो। त्यो सहमति अनुसार उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वको कार्यदल बन्नेछ। आयोग बन्नेछ। त्यो आयोगले तीन महिनाभित्र आफ्नो कार्य सम्पन्न गर्नेछ। त्यो आयोग आजै घोषणा हुनेछ। आजै हाउस चल्नुअघि क्याबिनेटले त्यो निर्णय गर्नेछ। र, आजको हाउस स्वभाविक ढंगले जानेछ।’

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र संयुक्त राष्ट्र संघको महासभाको भ्रमणबारे सो आयोग बनाउनेबारे पनि संसदलाई जानकारी गराउनेछन्।

प्रधानमन्त्रीले संसद बैठक आयोग बनाउने र आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने विषयमा पनि बैठकमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताए।

सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच गत असोज ५ गते नै सो आयोग बनाउने सहमति भएको थियो। तर त्यसको कार्यादेशको विषयमा दलहरुबीच सहमति हुन नसक्दा सो आयोग बन्न सकेको थिएन।

प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बोलाइएको छ। आधा महिनापछि बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

राजनीति