राष्ट्र सङ्घमा नेपाललाई देखिने गरी प्रस्तुत गर्ने सफलता मिलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको उहाँले दाबी गर्नुभएको हो ।

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको आफ्नाे औपचारिक भ्रमणबारे आज आइतवार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाललगायत अतिकम विकसित देशहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणले दुई देशबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको पनि उल्लेख गर्नुभयाे । उहाँले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत छलफल भएको बताउनुभयो ।

प्रचण्डले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि सदनलाई जानकारी गराउनुभयाे ।

राजनीति