एमाले गण्डकीमा गुटगत लडाइँ, अझै छैन निर्वाचनको टुंगो

पर्वत : नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनको तेस्रो दिन पनि नेतृत्व चयनका निर्वाचन हुने वा नहुनेमा अझै अन्योल छ। ​नेताहरु सर्वसम्मतमा नेतृत्वका लागि रस्साकस्सी गरिरहँदा निर्वाचन समितिले भने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार आज बिहान ९ बजे उम्देवारी फाराम वितरण गरिने, १० बजे प्रारम्भिक नामावली प्रकाशन, साढे १० सम्म उम्मेदवारमाथि उजुरीको समय र १२ बजेसम्म उजुरीको छानबिन गरी नामावली प्रकाशन गर्ने र एक बजेदेखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए।

उनका अनुसार संभव भएसम्म साँझ सवा ५ बजेदेखि मतदान गर्ने प्रयास गर्ने बताए। कार्यतालिका नेताहरुलाई पनि दिएको हुनाले त्यही अनुसार व्यवस्थापन हुनेमा आफू विश्वस्त रहेको थापाको भनाइ छ।

यता एमाले कास्कीकी सांसद विद्या भट्टराई भने सर्वसम्मत नेतृत्व चयनका लागि प्रयासरत रहेको बताउँछिन्। उनका अनुसार अहिले पनि एमाले गण्डकीका शीर्ष नेताहरु छलफलमै रहेको र कार्यतालिकामा हेरफेर हुने छ।

यसअघि मंगलबार नै उम्मेदवारको मनोनयन दर्ताको कार्य तालिका रहेको भए पनि उम्मेदवारहरूको क्लस्टर मिलाउनुपर्ने काम नसकिएपछि मतदाताहरूको प्रारम्भिक नामावली प्रकाशन बाहेकका कामहरू हुन सकेनन्।

अधिवेशनबाट निर्वाचित हुने प्रदेश समिति पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको भए पनि त्यस बाहेकका कामहरू अगाडि नबढेको अधिवेशनमा सहभागी नेकपा एमाले पर्वतका सचिव गोविन्द पहाडीले बताए।

प्रदेशको अध्यक्षमा लड्न खोज्नेहरू नेताहरू तीन÷चार देखिएकाले क्लस्टर मिलाउने नाममा सहमतिको प्रयासका लागि लामो समय लागेको एमालेकै नेताहरूले बताएका छन्।

प्रदेशका वर्तमान अध्यक्ष म्याग्दीका नवराज शर्मासहित लमजुङका केन्द्रीय सदस्य मायानाथ अधिकारी, वर्तमान कमिटीका उपाध्यक्ष स्याङ्जाका मोहन रेग्मी, वर्तमान सचिव लमजुङका धनञ्जय दवाडी, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी अध्यक्षका आकांक्षी छन्।

पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गरेर मुख्यतः दुई पक्षीय राजनीति एमाले गण्डकीमा देखिन्छ। यी दुवै पक्षबाट सहमति गरेर सर्वसम्मत नेतृत्व टुङ्ग्याउने सम्भावना भने कम छ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई हराएपछि एकाएक चर्चामा आएकी नेकपा एमालेकी वर्तमान सचिव पद्मा अर्याल मौन अवस्थामा रहेको जस्तो देखिएको छ।

पार्टीमा गुट उपगुट हुन नहुने अभिव्यक्ति दिएकी उनी आफूले नै कसैलाई च्याप्दा गुटगत राजनीतिमा देखिएको हुन सक्ने भएकाले उनी दोधारमा छिन्। तर अध्यक्षका उम्मेदवार अधिकारी आफू निकट भएको विश्वासमा पद्माले अधिकारीलाई सघाउने प्रयासमा रहेको बुझिएको केही नेताहरू बताउँछन्।

पृथ्वी सुब्बा पक्षले भने म्याग्दीका नवराज शर्मालाई रोजेको चर्चा पार्टीभित्रै छ। आफ्नै गृह जिल्लाका लमजुङका भएर पनि आफ्नो समूहमा नरहेकाले गुरुङले मायानाथलाई सहयोग नगरेको आरोप पनि छ।

गण्डकीका ११ जिल्ला र जनसङ्गठनबाट नौ सय सात प्रतिनिधि सहभागी छन्। अधिवेशनले एक सय ६५ सदस्यको प्रदेश कार्यसमिति निर्वाचित गर्ने छ।

राजनीति