त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एअरको जहाज ‘ओभरसुट’

कतारको दोहाबाट काठमाण्डाै आएको कतार एअरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ बजेर १२ मिनेटमा अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो । धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि विमानस्थलमा अवतरण गरेको थियाे ।

विमानस्थल कार्यालयका अनुसार कतार एअरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाइ अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, विमानस्थलका एक उच्च अधिकारीले भन्नुभयो । यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर झण्डै २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।

सिमरामाथिको आकाशबाट काठमाण्डाै विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाण्डाै विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

समाचार