निजामति ऐन पारित गर्नुपर्ने माग गर्दै हेटौंडा उपमहानगरका कर्मचारीद्वारा धर्ना

संघीय निजामति सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले आज धर्ना दिएका छन् ।

कर्मचारीहरुले पेन डाउन गर्दै उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिएका हुन् । ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै कर्मचारीहरुले धर्ना दिएका हुन् ।

उपमहानगरपालिका र वडा कार्यालयमा अत्यावस्यक बाहेकका सबै काम ठप्प पारिएको उपमहानगरपालिका संघर्ष समितिका अध्यक्ष लक्ष्मण मैनालीले जानकारी दिए ।

गत असोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय गरेको र सोही निर्णय बमोजिम निरन्तर रुपमा आफ्ना मागहरु पुरा गर्नका लागि दवाव दिने क्रममा पेन डाउन गरिएको हेटौंडा उपमहानगरपालिकाका लेखा अधिकृत केशव हुमागाईंले बताए ।

स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन् । उनीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्नेलगायतको माग गरेका छन् ।

समाचार