मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलिएको छ । मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा छन् ।

सोमबार र मंगलबार बिहान मधेश भवनमा गठबन्धनका पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले गठबन्धन र क्याबिनेटमा विना छलफल समन्वय नगरी मन्त्रालय फोड्ने विषयमा मुख्यमन्त्रीसंग जवाफ माग्ने निर्णय भएको बताए । ‘गठबन्धनको बैठकमा मन्त्रालय कसरी फुट्यो भन्ने विषयमा मुख्यमन्त्रीजीसँग जवाफ माग गर्ने निर्णय भएको छ,’ कार्यवाहक मुख्यमन्त्री समेत रहेका यादवले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार बैठकमा पुरानो योजनाको भुक्तानी, सरकारको कामकारबाहीमा मुख्यमन्त्रीको समन्वयको अभाव लगायतका विषयमा समेत छलफल भएको थियो ।

केही दिनअघि जनमत संसदीय दलका नेता मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय सरकारले फोडेर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकी कार्यविभाजन गरिएको थियो ।

प्रदेश समाचार मदेश प्रदेश