कैलाशमा ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ सुरु 

कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सेन्टरको उद्घाटन गर्दै गर्भावस्था जाँच कार्य सुरु गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा बुधबारबाट ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिए ।
नयाँ वर्थिङ सेन्टरबाट पहिलो दिन मै ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गराएका छन् । चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको पालिकामा नियमित गर्भवती परिक्षण गराउँनै समस्या हुने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको अध्यक्ष मोक्तानले बताए ।
उनले गाउँपालिको वार्षिक कार्यक्रम अन्तर्गत नै गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ सुरु गरेको जानकारी दिए । हेटौंडा अस्पतालका डा. विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानको भनाई छ ।
यसअघि नै पालिकाको वडा नम्बर २, ३, ५, ८ र ९ मा वर्थिङ सेन्टर सञ्चालन भइसकेको छ भने पालिकाको स्वास्थ्य चौकीबाट नै स्त्री रोग विशेषज्ञले सेवा प्रदान गर्दै आएको गाउँपालिकाका बालकुमार मल्ल ठकुरीले जानकारी दिए ।

स्वास्थ्य