छैटौं मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता शुरु

२९ असोज,मक्रान्चुली- छैटौं संस्करण अन्तरगत मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,भानु माविको मिनिपिच (फुटसल) मा प्रतियोगिताको आयोजना गरिएको हो ।

गढी स्टार स्पोर्ट्स क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका सचीव विदुर हुमागाईले बताउनुभयो ।

प्रतियोगितामा गाउँपालिकाका सबै ८ वटा वडाबाट १८ टिमको सहभागिता रहने र ४ दिन सम्म खेल संचालन हुनेछ ।प्रतियोगितामा प्रथम , दितिय र तृतीय स्थान हाँसिल गर्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पाउनुका साथै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव हुमागाईले बताउनुभयो ।

सोमबार प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले खेललाई मर्यादित बनाउन खेलाडी तथा सहभागी संस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । खेलप्रेमी दर्शकलाई आगामी दिनमा खेल हेर्न सुविधा पुगोस् भन्ने उदेश्यले फुटसलको पुर्वपट्टी प्याराफिट निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

वडा नम्बर ३ का बडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा अन्य विभिन्न वडाका अध्यक्ष लगायत जनप्रतिनिधि , विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् एवम् छट पर्व २०८० को पावन अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगिता आउँदो कार्तिक ३ गते समापन गरिने आयोजकले जनाएको छ ।

खेलकुद मुख्य समाचार स्थानीय