कि राम्ररी सरकार चलाउन सक्नुपर्छ, नसके सत्ता छाेड्नुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभएको छ । देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारूढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो ।

बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी पनि गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको सरकारले देशलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्वीकार्य हुन सक्दैन, कि उपयुक्त ढङ्गले सरकार चलाउनुपर्छ । होइन भने सरकार छोड्नुपर्छ । वास्तवमा देश अप्ठेराे स्थितिमा छ । याे अवस्थामा पुर्‍याउने यही गठबन्धन सरकार हो । यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन ।’

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको सत्ता स्वार्थका कारण देशको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको दाबी गर्नुभयाे । वर्तमान सरकारले देशको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको उहाँकाे आरोप थियो ।

ओलीले वामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराउनुभएको थियो ।

राजनीति