आज मकवानपुरको त्रिखण्डी, गढी र ऋषेश्वर मन्दिरमा मेला

आज हरिबोधनी एकादशीको दिन मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिरमा मेला तथा जात्रा लागेको छ ।

कात्तिक शुल्क एकादशीको दिनमा भगवान विष्णुको प्रतिकको रुपमा तुलसीको दामोदरसँग विवाह तथा विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्वमा हरेक वर्षझैँ यस बर्ष पनि मकवानपुरको विभिन्न स्थानमा रहेको मन्दिर परिसरमा मेला तथा जात्रा लागेको हो ।

आज जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित त्रिभुवन राजपथ सडकखण्डमा पर्ने त्रिखण्डी मन्दिमा परिसरमा मेला लागेको छ । त्यहाँ आज बिहानैदेखि पूजाआजा गर्ने भक्तजनहरुको बाक्लो भिड छ । सो मन्दिरमा पूजा गर्न र रमाउन मकवानपुरलगायत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरु पनि आएका छन् ।

यसैगरी, आज मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका–४ दामनस्थित ऋषेश्वर मन्दिर, मकवानपुरगढी गाउँपालिका वडा नम्वर–२ स्थित गढी दरबार र भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा रहेको मन्दिरमा समेत जात्रा लागेको छ ।

सबै मन्दिरहरुमा भक्तजनहरुको सुरक्षालाई मध्येनगर गर्दै बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय