वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले वडा स्तरमै पुगेर योजना सम्झौता कामको थालनी गरेको छ । आर्थिक वर्ष २०८० /८१ को लागि गाउँपालिकाले विनियोजन गरेका योजनाहरुको सम्झौता वडा स्तरमै गर्न थालिएको हो।

जस अनुसार कार्यक्रम बुधबार  मकवानपुरगढी गाउपलिकाको वडा नम्बर ८  मा योजना सम्झौताको काम सम्पन्न भएको छ । त्यस्तै बिहिबार मकवानपुरगढी गाउपालिका वडा नम्बर ७ र शुक्रबार वडा नम्बर १ मा योजना सम्झौताको काम गरिने पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकामा विकास निर्माणको कामलाई छिटो छरितो ,सरल र प्रभावकारी बनाउने उदेश्यले पहिलो चरणमा गाउँपालिकाको ३ वटा वडाहरू १,७ र ८ मा योजना सम्झौताको कामलाई वडाबाटै गरिने व्यबस्थाको सुरुवात गरिएको कार्कीले बताउनुभयो ।

योजना सम्झौताका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, प्राविधिक एवं शाखा प्रमुख सहितको कर्मचारीहरुको टोली वडामा खटिएको छ ।उपभोक्ताहरुलाई सहज होस् भन्ने उदेश्यले वडा स्तरबाट छनौट गरि बजेट विनियोजन गरेका योजनाहरुको सम्झौता वडामै पुगेर गर्न लागिएको बताइएको छ ।

योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना प्रक्रियाको बारेमा जानकारी दिने अभिप्रायले अभिमुखीकरण कार्यक्रम समेत गरिएको कार्कीले बताउनु भयो । ८  वटा वडा रहेको यस गाउँपालिकाले २०८० /८१ का लागि करिब २५० योजनाहरु छनोट गरेको छ ।

अर्थ मुख्य समाचार समाचार समाज स्थानीय