हेटौंडा एसियाली बुद्धिचालको उपाधि भारतीय खेलाडीले हात पारे

मकवानपुरको हेटौंडामा भएको अन्तर्राष्ट्रिय एसियाली प्रतियोगिताको उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले हात पारेका छन् ।

प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै उपाधि हात पारेका हुन् ।

उनले प्रतियोगिताभर कुल ७.५ अंक जोडे । उनले उपाधिसहित नगद १ लाख २५ हजार पुरस्कार राशि प्राप्त गरे ।

उक्त प्रतियोगिता नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको हो ।

यस्तै, प्रतियोगितामा ७ अंक जोड्दै दोस्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रितसिं नगद ४० हजार रुपैयाँ जित्न सफल भए ।

विजेता तथा उपविजेता एवम् खेलाडीहरुलाई मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठ, बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

खेलकुद समाचार