गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा

गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा परेका छन्।

यतिखेर उनको एक भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरू भएको हो। करिब चार महिना बजारमा आएको खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको गीत ‘कमाउने नी हो, रमाउने नी हो’ को भिडियो अहिले विवादमा आएको हो।

सपुत र मोडल जुना विश्वकर्मा वसन्तपुरको कुमारी घर नजिकैको इनारमाथि उभिएर नाचेका छन्। कुमारीको मुख धुन र स्नान गराउन उक्त इनारको पानी प्रयोग गर्ने ठाउँमा उनीहरू नाचेपछि आलोचना भइरहेको छ।

 कलाकारहरूले नेवा:सभ्यता र संस्कृतिमाथि अपमान गरेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ।

सत्य शर्मा नामका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘वसन्तपुर स्थित यो इनारको आफ्नै पौराणिक तथा ऐतिहासिक छ।  यसलाई अपवित्र गर्नु हुँदैन। स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस र यथाशीघ्र पहल गरियोस् ।। धार्मिक आस्थाको सम्मान गरौं।‘

यस्तै, सुरेन्द्र महर्जन लेख्छन्, ‘काठमाडौंबासीले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरूलाई उचित संरक्षण गर्न नसक्नु विडम्वनापूर्ण छ।‘

विनोद महर्जनले भने हिट हुनका लागि सम्पदामाथि प्रहार नगर्न सुझाव दिएका छन्।

गीतमा भने इनारको दृश्य छैन। तर, अहिले विवादमा आएको भिडियोमा भने इनार देखिएको छ। प्रकाश सपुतका म्युजिक भिडियो प्राय: विवादित हुने गरेका छन्। यसअघि उनको गीत ‘पिर’ पनि विवादमा थियो। गीतको दृश्यलाई लिएर सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका थिए।

आपत्तिजनक मानेका दृश्य सम्पादन गरेर सपुतले पुन भिडियो अपलोड गरेका थिए।

यस्तै, ‘सकम्बरी’ बोलको गीत पनि विवादमा रह्यो। यसमा महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको आरोप सपुतमाथि लगाइएको थियो। 

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fcultureofmadhyapurthimibiskajatra%2Fvideos%2F2257260007999124%2F&show_text=false&width=266&t=0

मनोरञ्जन समाचार