२ हजार बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै जीवन विकास

विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाले २ हजार बालबालिकालाई निःशुल्क ट्युसन पढाइरहेको छ। मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा निःशुल्क ट्युसन सेन्टर स्थापना गरी २ हजार ३२ जना विपन्न समुदायका बालबालिकालाई निःशुल्क पढाइरहेको हो। ती ट्युसन सेन्टरमा १ हजार ७४ जना छात्र र ९८४ जना छात्रा छन्।

ट्युसन सेन्टरमा १/१ जना शिक्षक र न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन्। ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ।

विपन्न समुदायका बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिको अभियानमा सघाउन ट्युसन सेन्टर सञ्चालन गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए।

‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधासम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्,’ उनले भने, ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र बच्चाको सिकाइ कस्तो छ भनेर मापन गर्न पनि सक्दैनन्।’

त्यस्ता विपन्न बस्तीका बालबालिकालाई लक्षित गरेर जीवन विकास लघुवित्तले करिब ३ वर्षअघि मोरङको डाइनियाबाट निःशुल्क ट्युसन सेन्टर शुरु गरेको थियो। ‘डाइनियामा ट्युसन सेन्टर शुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि विस्तार गर्ने निर्णय गर्‍यौँ,’ उनले भने, ‘बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सृजना भएको छ।’

निःशुल्क ट्युसन सेन्टरमा पढ्ने बालबालिकाहरु नियमित स्कुल जाने गरेको र आफ्नो सन्तानको पढाइप्रति अभिभावकको चासो पनि बढेको पाइएको उनले बताए।

शिक्षा समाचार