हेटौंडाको घ्याङसिङटारमा बालमैत्री अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम

 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा समावेशीकरण महाशाखाले बालमैत्री स्थानीय शासन अबलम्बन अन्तर्गत उपमहानगरको वडा नं १ स्थित घ्याङसिङटारमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन सहजीकरण समितिका पदाधिकारी र सहजकर्ताहरुको संयुक्त रुपमा बैठक बसी सूचकहरुको समीक्षा गर्दा वडा नं १ का दुर्गम क्षेत्रमा बालबालिकाले बिचैमा विद्यालय छोड्ने, बालविवाह गर्ने र किशोरी आमा बन्ने जस्ता समस्या भएको हुँदा उक्त क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा बालबालिका, घ्याङसिङटार टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, किशोर किशोरी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।वडा नं १ का बालमैत्री सम्पर्क व्यक्ति एवं वडा सदस्य मनु दाहालको अध्यक्षतामा सञ्चालन गरिएको उक्त सचेतना कार्यक्रममा सहजीकरण महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले र कार्यक्रम सहजीकरण सहायक महिला विकास निरिक्षक निर्मला दाहालले गर्नुभएको थियो ।

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन अभियान सञ्चालन गरेसँगै विभिन्न स्थानबाट बालविवाह, बालश्रम, कठिन परिस्थितिमा रहेका बालबालिकाको बारेमा उजूरी र जानकारी प्राप्त हुने गरेको तर दुर्गम स्थानबाट यस्ता समस्याहरु र घटनाको कुनै जानकारी आउने परिपाटीको विकास नभएको हुँदा यस्ता क्षेत्रहरुमा क्रमिक रुपमा सचेतनाका कार्यक्रम गर्न लागिएको महाशाखा प्रमुख एवं निर्देशक लामिछानेले बताउनुभएको छ ।

बालमैत्री अभियानसँग सम्बन्धित केही कार्यक्रमहरु यस स्थानमा सञ्चालन भएका छन्, टोलमा र विद्यालयमा बालसमुह गठन भएर क्रियाशिल छन्, यति धेरै अभिभावक र बालबालिका सँगै राखेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा हामीलार्इ धेरै सिकाइ भएको छ, हामी टोल विकास संस्थामा बालमैत्री विषयमा छलफल गरेर अभिभाकहरुलार्इ थप संवेदनशील बनाउनेछौं भन्दै टोल विकास संस्थाका अध्यक्ष भीम बहादुर ब्लोनले मन्तव्य व्यक्त गर्नुभयो ।

हाम्रो स्थानमा अरु भन्दा पनि बालबालिकाले पढ्न राम्रोसँग पाएका छैनन्, सरस्वती प्राविमा कक्षा ५ सम्म अध्ययन गर्दछन् त्यसपछि नकौलीको कालिका आधारभूत विद्यालयमा पढ्न जान्छन् ९ कक्षा पढ्नको लागि बजार जानुपर्छ जुन निकै कठिन कुरा हो त्यसैले यहाँका बालबालिकाका समस्या समाधान गर्न १० कक्षासम्म पढनको लागि यही स्थानमा व्यवस्था मिलाउनुपर्छ उहाँले थप्नुभयो ।

कार्यक्रममा बालमैत्री परिवार, विद्यालय एवं समाज निर्माणमा अभिभावकको भूमिका र बालबालिकाको दायित्व बारेमा छलफल समेत गरिएको थियो ।बालबालिकाले बिचैमा विद्यालय छोड्दा बालविवाह, बालश्रम, कुलत तथा हिंसा जस्ता समस्याको श्रृङखलाको शुरुवाती हुने भएको हुँदा विद्यालय नियमित गराउन सबैले सकरात्मक पहल गरिनुपर्ने विषयमाको साथ साथै बालबालिकासँग सम्बन्धित समस्या समाधान गर्न वडा, उपमहानगरपालिका, विभिन्न निकाय र संस्थाहरुको भूमिका बारेमा जानकारी गराइएको थियो ।-janapatra

समाचार