बागमती प्रदेशमा एक वर्षमा २७२ किलोमिटर पक्की सडक निर्माण

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । कर्मचारी प्रशासन तथा सेवा प्रवाह र विकास निर्माणमा एक वर्षे कार्यकाल उत्कृष्ट रहेको उनको दाबी छ ।

प्रदेश सरकारको एक वर्षे कार्यकालमा अन्तरतह समन्वय तथा सहकार्यको काम परिणाममुखी भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । सो अवधिमा हेटौंडामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक गरी ९ बुँदे निर्णयको पत्र प्रधानमन्त्री र गृहमन्त्री समक्ष पेस गरिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहलाई कुल ४ अर्ब ६३ करोड रुपैयाँ वित्तीय हस्तान्तरण निकासा गरिएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ निकासा गरिएको मुख्यमन्त्री जम्कट्टेलले जनाएका छन् ।

सवारी साधन कर बाँडफाँटतर्फ चालु आर्थिक वर्षको मङ्सिरसम्म स्थानीय तहलाई १ अर्ब ८९ करोड रुपैयाँ हस्तान्तरण, भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सशर्त अनुदान निकासा, नमूना वडा समाजवादी कार्यक्रमको कार्यविधि स्वीकृत गर्दै छनौट भएका वडामा १ करोड रुपैयाँसम्म अनुदान पाउने व्यवस्था मिलाइएको पनि उनले उल्लेख गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको मङ्सिरसम्म चालुतर्फ ५ अर्ब १५ करोड रुपैयाँ, पुँजीगततर्फ २ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको पनि मुख्यमन्त्री कार्यालयले जारी गरेको एक वर्षे उपलब्धिमा उल्लेख छ । चालु आर्थिक वर्षको मङ्सिरसम्म बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ६० करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त अनुदानतर्फ ७ अर्ब ५६ करोड रुपैयाँ, प्रदेशको आफ्नो स्रोतबाट १ अर्ब ३७ करोड रुपैयाँ तथा बेरुजु र नगद मौज्दात गरी ६५ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

प्रदेश सरकारले ३० प्रतिशतसम्म खर्च कटौती गर्ने निर्णय गरेको तथा विभिन्न सहकारी संघ संस्थाहरुको कार्यालय प्रयोजनका लागि घर जग्गा रजिस्ट्रेसन शुल्क छुट दिने, बागमती सभ्यता शुल्क र नारायणी सभ्यता शुल्क खारेज गरिएको पनि सरकारको उपलब्धिका रुपमा चित्रण गरिएको छ ।

पूर्वाधार निर्माण

प्रदेश सरकारको एक वर्ष अवधिमा २७२ किलोमिटर पक्की सडक निर्माण गरिएको र १५९ किलोमिटर ग्रावेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । सो अवधिमा २६ वटा सडकपुल तथा ६ वटा झोलुङ्गे पुल निर्माण, ३६४ किलोमिटर सडकको नियमित तथा ३७० किलोमिटर सडकको आवधिक तथा पटके मर्मत सम्भार गरिएको मुख्यमन्त्री जम्कट्टेलको कार्य प्रगतिमा उल्लेख छ ।

प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको तथा दक्षिण एसियाको पहिलो सुरुङ मार्ग ‘चुरियामाई सुरुङमार्ग’ मर्मतकार्य सम्पन्न गरिएको, २ वटा सरकारी, १७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, ६ वटा पार्क निर्माण, जनता आवास कार्यक्रमअन्तर्गत २५५ वटा व्यक्तिगत आवास निर्माण भएको पनि जनाइएको छ ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार