राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातै प्रदेशमा मतपत्र पठाइयो

निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सात वटै प्रदेशमा मतपत्र पठाएको छ ।

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको जनाएको छ ।

प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानेर सबै प्रदेशमा मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

आयोगले कानूनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छापेको उनको भनाई छ ।

आयोगले कोशी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९२० मतपत्र, मधेस प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १ हजार ७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू पठाएको प्रवक्ता पन्थीले बताए ।

यसैगरी, लुम्बिनी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा हुने तीन पदको निर्वाचनका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू पठाएको उनले बताए ।

राजनीति समाचार