
१२ माघ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाले किसानहरुबाट धान संकलन शुरु गरेको छ ।
संस्थाले शुक्रबार वडा नम्बर ३ को धमिले मक्रान्डाँडा एरियाको धान किसानसँग खरिद गरि संकलन कार्य शुरु गरेको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता तथा गाउँपालिका कृषि शाखा प्राविधिक पाँचौं तहका गोपाल प्रसाद लम्सालको उपस्थितिमा धान संकलन शुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष घिमिरेले किसानले उत्पादन गरेका हरेक कृषि उपज सहकारी मार्फत खरिद बिक्रि गर्न सके किसानले उचित मुल्य पाउने भन्दै त्यस्ता कार्यक्रममा आफ्नो तर्फबाट सदैव सहयोग रहने धारणा राख्नुभएको थियो ।
मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को कृषि विकास कार्यक्रम तर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत किसानहरुबाट धान संकलन गर्न शुरु गरिएको संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाले बताउनुभयो ।

संकलनको पहिलो दिन विभिन्न किसानहरुबाट १० क्विन्टल धान खरिद गरिएको र यस वर्ष ५० मेट्रीक टन धान खरिद गर्ने लक्ष्य राखिएको तिमल्सिनाले बताउनुभयो ।
पालिकाले यो वर्ष मोटा धानको प्रति केजी न्युनतम समर्थन मुल्य रु. ३१.९८ र मध्यम धानको प्रति केजी ३३.६२ रुपैयाँ तोकेको छ । तर संस्थाले कृषकहरूबाट मध्यम धान प्रति केजी ३९ रुपैयाँमा खरिद गर्न शुरु गरेको संस्थाका सचीव केदार पुडासैनीले जानकारी दिनुभएको छ ।


पालिकामा सुचिकृत भएका किसानहरुबाट सुचिकृत भएको सहकारीले धान खरिद गर्दा प्रति केजी किसानलाई २ र खरिद कर्ता सहकारीलाई २ गरी प्रति केजी ४ रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराईने कृषि प्राविधिक गोपाल प्रसाद लम्सालले बताउनुभयो ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष नवराज संजेल, संस्थाका उपाध्यक्ष केशव रेग्मी लगायत संस्थाका संचालक समिति, लेखा समिति एवम् कृषकहरूको उपस्थिति रहेकोे थियो ।
