पाँचौ मनहरी महोत्सव आजबाट

मकवानपुरको पश्चिमी मनहरीमा आज माघ १६ गतेदेखि पाँचौ मनहरी महोत्सव हुँदैछ ।

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

यही माघ २८ गतेसम्म संचालन हुने महोत्सवको सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवम् आयोजक समितिका संयोजक गणेश मानन्धरले जानकारी दिए ।

उनका अनुसार, महोत्सवमा १५० वटा स्टल रहनेछ । स्थानीय कृषि उत्पादनहरु च्याउ, केराका परिकार, स्थानीय गहत, मास, मस्याङको बिक्री बितरण र प्रदर्शनी गरिनेछ ।

साथै विभिन्न जातजाति र कृषि उपज प्रदर्शनीका लागि निःशुल्क स्ट्लको व्यवस्था गरिएको छ ।

त्यसैगरी, पश्चिम मकवानपुरमा बाहुल्य रहेको चेपाङ जातिको संस्कृति झल्काउने घर, नेपालमै मनहरीमा मात्र रहेको बनकरियालाई पनि महोत्सवमा स्थान दिने गरी तयारी गरिएको संयोजक मानन्धरले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा संचालन हुने आयोजकले जनाएको छ ।

समाचार