अमेरिकाको कामदार भिसाका लागि अनलाइन दर्ता मार्च ६ गतेबाट

न्यूयोर्क । अमेरिकाको सन् २०२४ का लागि कामदार भिसा एचवानबीको लागि अनलाइन दर्ता प्रक्रिया मार्च ६ गतेबाट सुरु हुने भएको छ । युएससीआईएसका अनुसार मार्च ६ को दिउँसो १२ बजेबाट मार्च २२ को दिउँसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिने छ ।

यस वर्ष कूल भिसा संख्या ८५ हजार रहेको छ । जसमध्ये ६५ हजार एचवान बी कामदार भिसाको कोटा रहेको छ भने अमेरिकी मास्टर्स डिग्री भएकाहरुका लागि थप २० हजार कोटा रहेको छ ।

.

युएससीआईएसमा अनलाइन खाता खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले कामदारको विवरण दर्ता गर्न सक्नेछन् । हरेक व्यक्तिको दर्ताका लागि १० डलर शुल्क तिर्नुपर्नेछ । यो भिसाका लागि कामदार आफैँले दर्ता गर्न नमिल्ने समेत जनाइएको छ ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउने जनाइएको छ । उक्त नम्बर केबल दर्ताको अवस्था हेर्नमात्र प्रयोग गर्न सकिने भएपनि पूर्ण आवेदनको अवस्था हेर्नका लागि यो नम्बर प्रयोग गर्न नमिल्ने जनाइएको छ ।

अमेरिकी रोजगारदाता र अमेरिकी एजेण्टले रजिष्ट्रान्ट एकाउन्टमार्फत काममा राख्ने व्यक्तिको विवरण दर्ता गर्न सक्नेछन् । यसपटकदेखि आवेदकको पासपोर्ट नम्बर वा यात्रा अनुमति कागजातको विवरण समेत पेश गर्नुपर्ने भएको छ ।

मार्च २२ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा अनलाइन एकाउन्टमार्फत् मार्च ३१ सम्म आवेदन छनौट भए नभएकोबारे जानकारी दिने युएससीआइएसले जनाएको छ । लोटरी प्रणालीबाट आवेदनहरुको प्रारम्भिक छनौट गरिन्छ । अनलाइन दर्ता प्रकृयामा छनौट भएका आवेदनहरुमात्र अप्रिल १ देखि रोजगारदाताले भिसा प्रकृयाका लागि अगाडि बढाउन सक्नेछन् ।

अन्तराष्ट्रिय समाचार