लायन्सद्धारा मकवानपुरमा चार दिने आँखा शिविर

हेटौंडा । लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर गर्ने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एरिया चिफ जेपि यादवले मकवानपुरमा तीन दिन, बारामा २ दिन र सर्लाहीमा एक दिन निशुल्क आँखा शिविर कार्य गर्ने बताएका छन् ।

२० गते शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको स्वास्थ्य चौकी परिसरमा आँखा शिविर गरिने, २१ गते आइतबार बागमती गाउँपालिकाको राईगाउँमा र बारा जिल्लाको ईनरुवामा आँखा शिविर कार्यक्रम गरिने यादवले बताए ।
त्यस्तै, २२ गते सोमबार सर्लाहीको रामनगरमा र मकवानपुरगढीको वडा नम्बर ८ बुढिचौरमा कार्यक्रम रहेको छ । यसैगरी २३ गते मंगलबार बारा जिल्लाको हरिपुरमा र मकवानपुरको पाथिभरामा आँखा शिविर सञ्चालन गरिने चिफ यादवले बताए ।
हेटौंडा सामूदायिक अस्पतालको प्राविधिक सहकार्यमा उक्त शिविर सञ्चालन गरिने जनाइएको छ । शिविर पश्चात अप्रेसन र चश्मा निशुल्क क्लबले नै गर्नुका साथै विमारी कुरुवालाई समेत खानाको व्यवस्था गरिने जनाइएको छ । ‘हाम्रो चार दिनको लक्ष्य भने सोह्र सय जनाको परिक्षण गर्ने हो भने करिब ३ सय जनाको मोतिया विन्दुको अप्रेसन गर्ने सोच छ, चिफ यादवले भने ।’ निशुल्क आँखा परिक्षणका साथै अप्रेसन समेत निशुल्क गर्ने क्लबको तयारी रहेको यादवले बताए
..
दुई दिन तेस्रो डिष्ट्रिक क्याविनेट बैठक लायन्स क्लब ईन्टरनेशनल अन्तरगत नेपालमा २ वटा एरिया रहनुका साथै १५ वटा डिष्ट्रिक मध्ये ३२५ एस क्षेत्रमा काठमाडौं, मकवानपुर र पर्सा जिल्लामा क्रियाशील रहेका क्लबहरु छन् । यस एरियामा १२१ वटा क्लब आवद्ध रहेको छ जसमा मकवानपुरमा ३१ वटा क्लब रहेको एरिया चिफ यादवले बताए ।

एउटा डिष्ट्रिकले ४ वटा क्याविनेट बैठक र एक वटा कन्भेन्सन गर्दै हरेक कन्भेन्सनले नयाँ डिष्ट्रिकका पदाधिकारी चयन गर्ने प्रचलन अनुरुप जुलाईबाट लागु हुने गरी एक वर्षको अवधिका लागि डिष्ट्रिक गर्भनर बन्नेछन् । हाल वीरगञ्ज निवासी देवकीनन्दन अग्रवाल डिष्ट्रिक गर्भनर रहेका छन् । आज र भोली दुई दिन सञ्चालन हुने क्याविनेट बैठकबाट मकवानपुर निवासी टासी डोल्मा तुम्बाहाम्फे डिष्ट्रिक गर्भनरको रुपमा २०२४को लागि चयन हुने यादवले बताए ।

उक्त बैठकमा मकवानपुरका तीन सय, वीरगञ्जबाट २५०, काठमाडौंबाट करिब दुई सय लायन्सहरुको सहभागिता हुने जनाइएको छ । लायन्सले स्वास्थ्य, शिक्षा, खानेपानीका साथै प्राकृतिक प्रकोपमा परेकालाई सहयोग प्रदान गरि योगदान गर्दै आइरहेको छ । विशेषत आँखाको क्षेत्रमा र विद्यालय निर्माणका साथै शैक्षिक सामाग्रीका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

समाचार समाज स्वास्थ्य