बुढीचौरमा ११ जनामा मोतिविन्दु पहिचान,रोगीको बुधबार अप्रेसन हुने

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर -८,बुढीचौरमा भएको शिविरमा १२४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये ११ जनामा मोतिविन्दुको समस्या देखा परेको बताइएको छ ।

गत शनिबार वडा नम्बर २ को मकवानपुरगढी स्वास्थ्य चौकीमा भएको शिविरमा १६१ जनाको आँखा परिक्षण गरिएका मध्ये २४ जनामा मोतिविन्दु पहिचान भएको थियो । शनिबार र सोमबार (आज) को शिविरमा गरि जम्मा २८५ जनाको आँखा परिक्षण गरिएकोमा ३५ जनामा मोतिविन्दु पहिचान भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

मोतिविन्दु पहिचान भएकाको आउँदो माघ २४ गते बुधबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा अप्रेसन हुने लामिछानेले बताउनु भएको छ । साथै अप्रेसन गर्ने विरामीहरुलाई गाउँपालिकाबाट हेटौंडा आउन जान नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य