वडा कार्यालयबाट २८ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडा कार्यालयले वडाका २८ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

सामाजिक दायित्व बहन गर्दै वडा भित्र बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क बिमा गरिएको ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित वडाको सिलिङ बजेट बाट त्यस्ता परिवारको बिमा गरिएको र बिमा गरे वापत २८ परिवारका लागि प्रति परिवार ३ हजार पाँच सयका दरले भुक्तानी गरिने उहाँले बताउनुभयो ।

बिमा गरिने परिवार छ्नौट गर्नका लागी वडामा रहेका ८ वटा टोलविकास संस्था र वडाको स्वास्थ्य ईकाइबाट सिफारिस भई आए अनुसारले बिमा गरिएको वडाध्यक्ष घिमिरेले बताउनु भएको छ ।

स्वास्थ्य बिमामा समावेश परिवारले सरकारले संचालन गरेको स्वास्थ्य बिमा बोर्डबाट १ लाखसम्मको निशुल्क उपचार खर्चको सुविधा पाउनेछन् । वडा कार्यालयले गत वर्ष पनि २८ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको थियो ।

अर्थ मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य