माओवादी स्थायी समिति बैठक आज पनि जारी रहने

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने भएको छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन् । विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए ।

विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ ।

राजनीति समाचार