२९ औं जनयुद्ध दिवसका अवसरमा सहिद पाख्रिनको सालिकमा माल्यार्पण

मकवानपुरगढी- नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँकमिटीले जनयुद्धको २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार गाउँपालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरिएको हो ।

नेकपा माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य छिन्तुले नागरिकको अधिकार, मुक्ति, स्वतन्त्रता र पहिचानका लागि जनयुद्ध थालिएको स्मरण गर्दै जसले जनयुद्ध गरे ती सबैको साझा दिवस जनयुद्ध दिवस भएको बताउनुभयो । जनयुद्ध दिवसलाई सामन्तबाहेक सबैलाई राष्ट्रिय उत्सव र गौरवका दिनका रुपमा मनाउन अपिल गर्नुभयो । पहिचान पनि सबैलाई ठीक हुने, अधिकार पनि सबैलाई ठीक हुने, जनयुद्धको जगबाट उठेर आएको संघीय लोकतान्त्रिक गणतन्त्र पनि सबैलाई मान्य हुने तर दिवस चाहीं नमनाउनु न्यायोचित नभएको उनले बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले जनयुद्धबाट प्राप्त उपलब्धि संस्थागत् हुन नदिने षडयन्त्र भइरहेको भन्दै गणतन्त्रबादीहरु गोलबद्ध हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र गाउँकमिटी अध्यक्ष राजकुमार खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिन, अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य गोकुल लम्साल लगायत पार्टी नेता÷कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

राजनीति समाचार स्थानीय