प्रेम दिवस बिशेष- म तिमिलाई अथाह प्रेम गरिरहनेछु !

सिम्रन खड्का/ थाहा
प्रिय !
तिम्रो प्रेम कुन शब्दमा बयान गरौं ? 
हुन त आज माया गर्नेहरुको दिन रे !
प्रणय दिवसको शुभकामना ! 

हुनत मैले यो भनिराख्न पर्दैन । मेरो लागि हरेक दिन प्रणय दिवस ।

मेरो लागि तिमी अमूल्य छौ,  जसको कुनै मूल्य छैन । भावनामा बगेर होइन मनदेखि नै भन्छु म तिमिलाई अथाह प्रेम गरिरहनेछु । 


यी दिनहरुमा झन् धेरै महशुस हुँदै छ, तिमी मेरो लागि सास बराबर छौ।  तिमीले दिने माया, गरेको भरोसा अनि आफ्नो परिवारको लागि गरेको त्याग  स्मृतिमा अमिट छाप बनेर बसेको छ ।


अनि जीवनमा  जतिसुकै आरोह  अवरोहहरु आउँदा पनि तिमीमा आउने त्यो आत्मबल मेरो लागि अझ बिशेष छन् । तिमीलाई जीवनसाथी पाउनु नै मेरो लागि धेरै ठुलो कुरा हो, किनकि हरेकको भागमा तिमीले माया गरे जस्तो माया गर्ने मान्छे हुन्नन् ।  मेरो गल्तिमा मलाई बाटो देखाउँदै सहि बाटोमा जान आग्रह गर्ने तिमी मेरा गल्ती अनि कमि कमजोरीलाई पनि सहर्ष स्वीकार्न सक्ने तिमी मेरोलागि धेरै प्रिय छौ । 


के भनम तिमीलाई  म मेरो सपनामा आफ्नो सपना सजाउछौ, मेरो खुसीमा आफ्नो खुसी देख्छौ हामीलाई पीडा हुन्छ भनि हरेक पटक आफ्नो पीडा लुकाउँछौ । 



मैले बुझेको छु तिम्रो विडम्वनालाई, नियालेको छु तिमी भित्रको त्यो भूमरीलाई  । तिमीभित्र पनि गुम्सिएका छन् धेरै कुराहरु उकुसमुकुस भएका छन्, शब्दका भारहरु तर तिमी प्रकट गर्न सकदैनौ, किनकि तिमी हामीलाई दु:खी देख्न र दु:खी बनाउन चाहदैनौ । 


मैले महसुस गरेको छु तिम्रो त्याग ! यहि त्यागले गर्दा नि म झन् तिमीलाई अथाह प्रेम गर्छु । जब मलाई चिन्ता लाग्छ तिमीलाई सम्झिन्छु । अनि फेरि चिन्ता भित्रको चिताको डर लाग्छ । तिमीलाई सम्झिन्छु तिमी जस्तै म पनि गल्छु थाक्छु रुन्छु कराउँछु आत्तिन्छु अनि फेरि तिमीलाई नै सम्झिन्छु । त्यसैले त मैले माग्ने सम्झने सबथोकमा तिमीलाई  सम्झिन्छु।  नजिकबाट  नियालेको छु मैले तिम्रा रहर तिम्रा इच्छा तिम्रा चाहानाहरु । तिमी भित्रको त्यो कहिले नमर्ने आशालाई हो धेरै नजिक बाट नियालेको मैले । तेहि आशाको त्यान्द्रो नै हाम्रो जीवनलाई बाध्ने मजबुत डोरी  भएको छ ।



एउटा सहयात्रीको नाताले तिमी भित्र उठेका जीवन र संघर्षका ज्वारभाटाहरुलाई मैले पनि महशुस गरेको छु ।


आग्रह छ तिम्रो आँट र हिम्मतको दियोमा मैलेपनि तेल थपिरहेको छु, निभ्न नदिनु।


म बिस्वास दिलाउछुकि तिमी कुनैपनि हालतमा हिम्मत नहार, तिमी हिम्मतको सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राख, म तिम्रो आँट भरोसाको सतिशाल हुनेछु । 


सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । आत्मविश्वासमा कहिलेपनि कमि हउन नदिनु किनभने देखेको सपना पुरा गर्न तिम्रो जीवनसाथी प्रतिबद्ध छे ।


तिम्रो हिम्मत बनेर हरेक दुख सुख अफ्ट्यारो आरोह अवरोहहरुमा म सधैं तिम्रो छाँया बनेर साथ दिईरहेको हुनेछु ।


यी दिनहरुमा हामीले धेरै कुराहरुको महसुस गर्न पाएका छौं ।

आफ्नाहरुको पराय ब्यबहार, तिरस्कार, अपहेलनालाई उर्जाको रुपमा लिनुपर्छ । उर्जा सकारात्मक नै हुन्छ ।

सकारात्मक सोच नै सफलताको कसी हो ।



सफल हुन संघर्ष गर्नैपर्छ । संघर्ष जीवनको सिक्काको एक पाटा हो । संघर्ष भएनभने जीवन  पूर्ण हुदैन पनि । यही संघर्षलाई सहर्ष स्वीकर गर्नै पर्छ ।


समयको चक्र र गतीलाई बदल्न हामीले सक्दैनौं । समयको चक्रमा हामी निरन्तर नथाकी, नआत्तिई यात्रा गर्नुपर्छ, अवश्य लक्ष्यमा पुगिन्छ ।


बिगतलाई सम्झने, बर्तमनमा मेहनत गर्ने र भविस्यमा सफलहुने नै जीवन हो ।


यो जीवन यात्रामा आउने हरेक चुनौतीहरुलाई स्वीकर गर्नै पर्छ । यो यात्राम बिचलित हुनुहुन्न । सगरमाथा झै अडिग हुनुपर्छ ।



तिमी मेरो हौसला र  प्रेरणाको खानी हौ । 


म तिम्रो माया, साथ र  हौसला  र प्रेरणाको डाईहर्ट फ्यान हूँ ।


मैले देखेका सपनामा तिमीले सजाएको हरेक सपनाका फूल फुलाउन  हर कोसिस गर्नेछु। 


संगै देखिएका  सपनाहरु पुरा गर्ने हिम्मत भगवानले हामीलाई प्रदान गरुन ।


तिम्रो हरेक अवस्था र परिस्थितिमा मा संगै रहनेछु धेरै माया र सम्झना मेरो जीवनसाथी ।  पुनः प्रणय दिवसको शुभकामना, डियर मनोज !

साहित्य