आज वसन्तपञ्चमीः सरस्वतीको आराधना गरी मनाइदै

हेटौंडा । आज वसन्तपञ्चमीका दिन मकवानपुरका बिद्यालय र क्याम्पसमा सरस्वतीको आराधना गरी मनाइदै छ । माघ शुक्ल पञ्चमी। अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्। मकवानपुरको दश वटै स्थानीय तहका बिद्यालय तथा क्याम्पसहरुमा सरस्वती पुजा मनाइदै छ ।

यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ।

अमरकोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्।

पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ।

सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्मको आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।

मुख्य समाचार समाचार