संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्को दुबै सदनको बैठक बस्ने भएको छ । जसअनुसार प्रतिनिधिसभा बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक आजसम्मका लागि स्थगित भएका थियो ।

यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ लाई पनि सभासमक्ष पेस गर्ने र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।

समाचार समाज