मकवानपुरगढीको सुकौरामा सांसद बतौलाको नेतृत्वमा शिबम सिमेन्ट खानी क्षेत्रको अनुगमन

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी शनिबार यसै बिषयलाई लिएर मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन गरिएको छ ।

खानी क्षेत्रका वासिन्दाहरुलाई प्रतक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच वुँदे निर्देशन दिएको छ । शिबम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदा सम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षण लगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा पालिकाको नेतृत्व सँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धि सम्पुर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बतौलाले  बताउनुभयो ।

यसै विषयलाई लिएर केहि दिन अघि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले खानी क्षेत्रको अनुगमन गर्नुभएको थियो ।

खानी सञ्चालनका कारण खोला आसपासका क्षेत्रका वासिन्दाहरुलाई समस्या हुने भएकाले त्यसतर्फ आफुले पहिले देखिनै ध्यानाकर्षण गराएको र अहिले पनि खानी क्षेत्रमा सहभागि भएर स्थानीय जनताको विषयमा जानकारी गराएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनुभयो ।

खानी बिभाग संगको संझौता बिपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फाल्दै जंगल सखाप बनाएर ओभरबडेन समेत त्यसै फालिएको छ । जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ ।

शिबम सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

अर्थ मुख्य समाचार