मनहरीमा ५ दलले निर्माण व्यवसायीको अपमान गरे: संघ

हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा ५ राजनीतिक दलहरुले निर्माण व्यवसायी संघलाई अपमान गरेको बताएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेका ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो ।
मनहरी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले ११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘मनहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले २०८०÷११÷११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’
संघद्वारा जारी विज्ञप्तिमा निर्माणको जिम्मा पाएको कम्पनीसँग कानुनी रुपमा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद समेत व्यक्त गरिएको छ ।
संघका अध्यक्ष बालगोपाल कँडेलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विना आधार सम्बन्धित पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको संघले भत्सर्ना गर्ने बताए ।
पुल निर्माणस्थल राष्ट्रिय निकुञ्जको क्षेत्राधिकार भित्रपर्दा भएको प्राविधिक कठिनाई, वर्षायाममा बाढीका कारण भएको क्षती, ढुंगागिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको उपलब्धतामा भइरहेको कठिनाइलगायत असहजतालाई झेलिरहेको परिस्थितिमा राजनीतिक दलले सहयोग गर्नुपर्नेमा उल्टै आन्दोलन गर्नु दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।
‘निर्माण व्यवसाय क्षेत्र उद्योगकै रुपमा अगाडि बढिरहेको अवस्थामा विकास निर्माणको कार्य राजनीतिक दलसँग सहकार्य गर्न हामी तयारै छौं । तर, निर्माण व्यवसायीको मनोबल गिराउने गरी प्रयोग गरिएको यस्ता शब्दले राजनीतिक दलले हामीप्रति गर्ने व्यवहार प्रष्ट भएको देखिन्छ ’ विज्ञप्तिमा भनिएको छ ।
 

prees-bigyepti-1708912156.jpg
समाचार समाज