हेटौंडामा दुग्ध किसानको विरोध प्रदर्शन (तस्वीरहरु)

१७ फागुन,हेटौंडा- केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडको आव्हानमा चरणवद्ध आन्दोलन अन्तरगत आज बिहिवार दुग्ध उत्पादक किसानहरुले देशैभर विरोध प्रदर्शन गरेका छन् ।


नेपालमा उत्पादन भएको दुध नबिकेर फाल्नु परेको तर विदेशबाट आयातित दुध तथा दुग्ध पदार्थले बजार पाएको भन्दै किसानहरूले आक्रोश पोखेका छन् । दुग्ध बिक्रीको ग्यारेन्टी हुनुपर्ने र बिक्रि भएको दुधको भुक्तानी समयमै पाउनुपर्ने किसानहरुको माग रहेको छ ।

सरकारी स्वामित्वको दुग्ध बितरण आयोजना र नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुबाट किसानले पाउनुपर्ने भुक्तानी रकम बिगत ६ महिनादेखि नपाएको र किसानहरुले उत्पादन गरेका कुनैपनि कृषिजन्य उत्पादनले बजार नपाएको तथा बजार भारतिय उत्पादनले भरिभराउ रहेका कारण नेपाली किसानहरुले आफ्नो उत्पादन फ्याक्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ ।

कृषि र पशुपालन ब्यवशायमा यति धेरै समस्या सृजना हुँदापनि सरकार किसानहरुको समस्या प्रति उदासिन देखिनु, अबैधानिक रुपमा आयातित भारतिय दुग्ध र दुग्धजन्य पदार्थ रोक्न आवश्यक कदम नचाल्नु, आफ्नै मातहतमा रहेको दुग्ध विकास संस्थानलाई भुक्तानी दिनको लागि कुनैपनि कदम नचाल्नु खेदजनक कार्य भएको संघले जनाएको छ ।

यसैबीच मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयोजनमा मकवानपुरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरूले बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शन नै क्रममा गरिएको कोणसभामा बक्ताहरुले सरकार माथि आक्रोश पोखेका थिए । नेपालमा उत्पादन भएको दुध फाल्नु पर्ने अवस्थामा पुग्नु र विदेशबाट अर्बौं रकमको दुध तथा दुग्धजन्य आयात हुनु बिडम्बना भएको उनीहरूले बताएका थिए । कोणसभामा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य बद्री प्रसाद लम्साल , केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य विदुर हुमागाई , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, किसान महासंघ बागमती प्रदेशका अध्यक्ष एकराज उप्रेती , जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणी दहाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

हेटौंडाको पुर्वी क्षेत्रको सानोपोखराबाट,पश्चिमको राप्ती पुलबाट, उत्तरको जिल्ला दुग्ध उत्पादक सहकारी संघको कार्यालय चौकिटोलबाट र दक्षिणको करापुलबाट एकसाथ निस्किएको र्‍याली बुद्धचोकमा जम्काभेट भई संयुक्त र्‍यालीमा परिणत भएको थियो । सो संयुक्त र्‍याली राप्ती रोड, जिल्ला प्रहरी कार्यालय, बसपार्क, राममन्दिर चोक, मेनरोड हुदै बुद्धचोक, उद्योग वाणिज्य संघबाट चौकिटोल ओरालोमा रहेको कृषि तथा पशुपंछी मन्त्रालयसम्म पुगी कोणसभा सहित समाप्ति भएको थियो ।

दुग्ध उत्पादक किसानहरुको चरणबद्ध आन्दोलनलाई मकवानपुरका राजनीतिक दल नेपाली कांग्रेस ,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

मुख्य समाचार