मकवानपुरका दुई स्थानबाट सय केजी चरेस र गाँजासहित २ जनालाई पक्राउ

हेटौंडा । मकवानपुरको दुई स्थानबाट प्रहरीले मंगलबार करिब सय केजी चरेस र गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग खण्डको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित मनहरीतर्फबाट आइरहेको बीआरको १ बीएफ ५५८१ नम्बरको भारतीय कार रोकेर प्रहरीले खानतलासी गर्दा ८४ केजी १२०ग्राम गाँजा फेला पारेको थियो ।

कारको सिटको भागमा फल्स बटममा गाँजा लुकाएर ल्याएको फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । चालक सिमरा उपमहानगरपालिका(७ का साविक अन्सारी र कारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । यसैगरी मंगलबार नै १५ केजी १२० ग्राम चरेससहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पालुङबाट हेटौंडातर्फ आइरहेको वाग्मती प्रदेश ०२—०२० प ८८३३ नम्बरको मोटरसाइकल भीमफेदी गाउँपालिका(२ भैंसे चेकपोष्टका प्रहरीले रोकेर खानतलासी गर्दा मोटरसाइकल चालक धादिङ गजुरी गापा(८ का ३१ वर्षीय प्रशान्त तामाङले बोकेको झोलामा प्लाष्टिकमा प्याक गरेको चरेस फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । ुमोटरसाइकलसहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं, उनले भने ।

समाचार समाज