मकवानपुरगढीमा परीक्षणका लागि लगाइएको सूर्यमुखी खेतीमा हावाको महँगो मोल

हेटौँडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्‍याएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी खेती हावाको कारण सोत्तर बनेको छ। ढकमक्क फुलिसकेको र मनमोहक देखिएको सूर्यमुखी खेती सामान्य हावाले नै सोत्तर बनाएपछि किसानहरू चिन्तित भएका छन्।

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा जमिनमा लगाउनुभएको सूर्यमुखी खेती हावाको कारण क्षतिग्रस्त भएपछि उहाँ चिन्तित हुनुभएको छ। बिरुवाभन्दा फूलहरू ठूला भएकाले सामान्य हावाले पनि आधा फूल ढालिदिएपछि उहाँ चिन्तित हुनुपरेको छ।

“सामान्य हावाले आधा खेती नै बर्बाद भयो, ढकमक्क फुलेका सूर्यमुखीहरू सोत्तर भए,” पराजुलीले खेद व्यक्त गर्दै भन्नुभयो। “सूर्यमुखीका फूल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेहरूको भिड लाग्ने गर्थ्यो। फूल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, तर अहिले सबै सोत्तर भएपछि मेरो मेहनत खेर गयो जस्तो लाग्छ।”

पराजुलीले प्रति कठ्ठा एक सय केजीको दरले सूर्यमुखी उत्पादन गर्ने योजना बनाउनुभएको थियो तर हावाले सोत्तर बनाइदिँदा उहाँको सपना अधुरै रहेको बताउनुभयो। धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतका अन्य किसानहरूले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिएका छन्।

मुख्य समाचार समाचार समाज स्थानीय