एसईईको तयारी अन्तिम चरणमा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, यही चैत्र १५ गतेदेखि सुरु हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको हो ।

चैत २७ गतेसम्म संचालन हुने एसईई परीक्षामा देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षाको लागि बोर्डले प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको र बाँकी ३ जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको जनाएको छ ।

यस वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो ।

यस वर्ष नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा संचालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था भएपनि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको जनाइएको छ ।

परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुनेछ ।

शिक्षा समाचार समाज