बेकामी बन्यो राष्ट्रिय परिचयपत्र, परिचयपत्र वितरणको काम सुस्त

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित जारी गर्न थालिएको राष्ट्रिय परिचयपत्र वितरणको काम साह्रै सुस्त भएको छ । सरकारले परिचयपत्रको लागि वैयक्तिक विवरण लिने काम करिब आधा मात्रै सकाएको छ भने छपाइ भएका करिब ५ लाख परिचयपत्रको मात्रै वितरण भएको छ ।

सरकारले वितरण गरिसकेका राष्ट्रिय परिचयत्रको उपयोगिता नै स्पष्ट नगरेपछि परिचयपत्र छापिएका परिचयत्रहरु समेत जिल्ला प्रशासन कार्यालयहरुमा अलपत्र परेका छन् । राहदानीका लागि परिचयपत्रको नम्बर लिएकाहरु विदेशबाट फर्किएपछि पनि परिचयपत्र लिन पुगिरहेका छैनन् । अहिले हातमा परिचयत्र पत्र पुग्दा पनि त्यो कतै कुनै पनि सरकारी कामकाजमा उपयोग नहुने अवस्था छ ।

सबैजसो सरकारी काममा जन्मदर्ता र नागरिकता नै खोजिने गरेकाले परिचयपत्र लिएकाहरूले पनि थन्काएर राखेका छन् । त्यसैकारण विवरण भरेपछि छपाइ समेत सकेर जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुगेका परिचयपत्र समेत अलपत्र परिरहेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ३ मंसिर २०७५मा पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र दिएर वितरण सुरु गरेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय