राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित हुन नसकेकोबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सङ्घीय संसदबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित हुन नसकेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

राष्ट्रपति पौडेलले हिजो सङ्घीय संसदमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहे पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन ।

यही विषयमा बिहान प्रधानमन्त्री र सभामुखबीच झण्डै ४५ मिनेट छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेका बेला भैरहेको निरन्तरको अवरोधले नागरिकस्तरमा नै वितृष्णा फैलिएको बताउनुभयो ।

उहाँले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव समेत पारित नभएको अवस्थामा तत्कालै प्रमुख प्रतिपक्ष दल कांग्रेससँग सहमति गर्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको र भोलि बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार