खेलमार्फत अर्थतन्त्र र कूटनीति सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन्।

‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए। “युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु”, उनले भने, “खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु।”

नेपालको भू–बनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे।

उनले उक्त ऐतिहासिक घोषणाले नेपालका भलिबल खेलाडीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे।

आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने बताए।

साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष गर्दै २०४६ सालको जनआन्दोलनसम्म आउँदा उनले संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

उनले भने, “वैचारिक र साङ्गठनिक भूमिकाको इतिहासमा प्रधान सधैँ प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ।”

राष्ट्रिय र अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीलाई पुरस्कृत गर्दै आएको बताए।

मुख्य समाचार राजनीति समाचार